कल्पना श्रेष्ठ, रामेछाप ।
"आमाभन्दा राम्री कोही छैन संसारमै"
साच्चै आमाभन्दा राम्री कोही छैन संसारमा सबै चिजले उत्कृष्ट मेरी आमा। अरूले चिन्नुभन्दा नौ महिना अगाडि नै मलाई चिन्नु भयो र त अरूले भन्दा कैयौं गुणा बढी माया गर्नु हुन्छ मलाई । यो सुन्दर संसार देखाउने आमा तपाईंको गुणगान जत्ति गाए पनि मलाई कमी नै महसुस हुन्छ। सबैभन्दा पहिले बोल्न सिकेको शब्द हो आमा, हरेक सुख दु:खमा झझल्को आउने एउटै अनुहार आमाकै हो। मलाई थोरै ठेस लाग्दा पनि ऐया आमा, ओहो! हरेक प्रहरमा आमा। कहिलेकाहीं असफलताबाट हार खाएर आफूदेखि आफैसँग दिक्क लाग्छ तर आमा जब तिम्रो अनुहार देख्छु नि अनि मलाई म केही गर्छु भन्ने छुट्टै आशा र जांगर आउँछ आमा ।
पौराणिक कालदेखि मनाउँदै आएको यो पर्व मलाई थाहा हुंदादेखि सबभन्दा मन पर्ने पर्व ।
सांच्चै सानो हुँदाखेरि यो पर्व मनाएको एउटा याद आयो । प्रायः बैशाख महिनामा गाउँघरमा मकै गोड्ने बेला हुन्छ । काफल पाक्यो भन्दै चरा कराउँछ । ऐंसेेलु र काफल पाक्ने बेला यो पर्व पर्छ । उराठलाग्दा दिनहरु बितेर पालुवा पलाउने बेला । यही दिन काफल र ऐंसेलु टिप्न पारि वनमा गएं । डालीभरि काफल अनि गिलासभरि ऐंसेलु लिएर आए म अनि अरू साथीहरू पनि । घरमा आएर आमा यो तपाईंको लागि लु टन्न खानुस् भनेर सबै आमाको अगाडि राखिदिएं आमा मुसुक्क हास्नु भयो खै किन हो ? आमा म ठुली भएपछि राम्रो जागिर खान्छु अनि राम्रा राम्रा साडी किनेर ल्याइदिन्छु ल अनि मीठो मीठो खानेकुरा ल्याइदिन्छु है भनेको आमाले लु लु कहिले आउने हो त्यो दिन भन्दै के के गर्नु लाग्नु भयो मलाई अझै सम्झना छ आमाले सम्झिनु भयो या बिर्सिनु भयो । मैले त्यो वाचाहरु अझै पुरा गर्न सकेकी छैन आशा छ प्यारी आमा हजुरको आशिर्वादले त्यी वाचाहरु छिट्टै पुरा गर्ने छु ।

उमेर बढ्दै गयो ठुला ठुला सपनाहरू बोकेर सहर पसियो खै के कामधन्दामा व्यस्त भइ यो सहरमा अहिले १२/१३ वर्ष नै भएछ आमासंग यो पर्व मनाउन नपाएको ।आज त्यही दिन बिहानै आमालाई फोन गरेर-
-आमा धन्यवाद ल यत्ति धेरै माया प्रेमको लागि
- आमा सधैं स्वस्थ रहनु है
- आमा साथमा एउटै छोरा छोरी छैन्न भनेर मन नदुखाउनु है
- आमा जे छ मिठो पकाएर खानु है
आमा छोरीको फोनमा गनथन यस्तै यस्तै................
तपाई पनि आमाबाट टाढा हुनुहुन्छ भने एकफेर फोन गरेर आवाज सुन्नु है। अहिले परिस्थिति अलि जटिल भएकाले सबै अस्तव्यस्त दिनहरु कटाई रहेका छौ जो जहाँ छौ जस्तो अवस्थामा छौँ सबैले आ-आफ्नो ख्याल राखौँ ।
यो वर्ष सबै छोराछोरीका आमाहरु सुरक्षित रहुन । सबै आमाका छोराछोरी सुरक्षित रहुन। ममता कि खानी यस पृथ्वी लोकका सम्पूुर्ण आमाहरुप्रति नमन।
मंगलवार २८ बैशाख, २०७८