फागुन २१, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले लिएर आएको निति अनुसार व्यवसायिक रुपमा पशुपन्छी पालन बढेसँगै गाउँपालिका मासुमा आत्मनिर्भर बनेको हो । गाउँपालिकाभित्र लोकल, बोइलर र लेस कुखुरा पालन बढेको छ । गोकुलगंगा गाउँपालिका मासुमा आत्मनिर्भर बन्ने रामेछापको पहिलो स्थानीय तह बनेको छ ।
गाउँपालिकाभित्र करिब चालिस वटा भन्दा बढी कुखुरा पालनको लागि व्यवसायिक रुपमा फार्म दर्ता भएको गोकुलगंगा गाउँपालिकाका रोजगार संयोजक पर्शुराम कार्कीले बताए । उनले भने, ‘गाउँपालिकाले अगाडि सारेको नीति सफल भएको छ, अहिले मासु र अण्डामा गाउँपालिका आत्मनिर्भर हुँदै निर्यात गर्ने अवस्थामा पुगेको छ ।’
कुखुरा पालनसँगै व्यवसायिक रुपमा गाउँपालिकाभित्र बाख्रा पालन, बंगुर पालन, ट्राउट माछा पालनमा युवाहरु आर्कषित भएका छन् । युवाहरुलाई गाउँपालिकाभित्र नै रोजगारी दिनको लागि गाउँपालिकाले अनुदान सहयोग पनि गर्ने गरेको छ ।
गोकुलगंगा गाउँपालिकालाई जिल्लाकै नमूना बनाउने अभियान क्रमश पुरा हुँदै गएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताए । कृषि क्षेत्रमा फडको मारेको गाउँपालिकाले मासुजन्य बस्तु निर्यात गर्ने नीति लिएको छ ।
आलु र किबी उत्पादन गाउँपालिकाभित्र व्यवसायिक रुपमा अगाडि बढेको बताउँदै उनले बाख्रा र कुखुरा पालनबाट कृषकहरुले राम्रो आम्दानी गरिरहेको बताए ।
उक्त गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य वस्तु आलु, किबी सदरमुकाम मन्थली र राजधानी काठमाडौंमा निर्यात हुने गरेको छ भने खसी बोका, कुखरा र अण्डा मन्थली र उमाकुण्ड गाउँपालिकामा निर्यात हुँदै आएको अध्यक्ष सुनुवारले बताए ।
कुनै पनि दर्ता भएको फार्मको अनुगमन गरेर गाउँपालिकाले अनुदान दिन थालेपछि विदेश जाने युवाहरु समेत गाउँमै व्यवसायिक पशुपालन र कृषि कार्यमा रमाउन थालेका छन् ।
शुक्रबार २१ फाल्गुन, २०७७