फागुन २८, रामेछाप । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतको फैसलाले छुट्टिएपछि धमाधम केन्द्रदेखि जिल्ला हुँदै स्थानीय तहमा पार्टी कार्यालय सञ्चालनमा ल्याउने अभियान सुरु गरेको छ ।
नेकपा एमालेले रामेछाप जिल्लामा पार्टी कार्यालय सञ्चालनमा ल्याएको दुई दिनपछि नेकपा माओवादी केन्द्रले पनि आफ्नो पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो ।
बिहिबार रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले सदरमुकाम मन्थलीको देवकोटा चोकमा नेकपा माओवादी केन्द्र रामेछापको पार्टी कार्यालय उद्घाटन गरेका छन् ।
सांसद श्रेष्ठले पार्टी कार्यालय उद्घाटन गर्दै कम्युनिष्ट आन्दोलनमा केपी ओली प्रवृतिका विरुद्धमा सङ्घर्ष गर्दै पार्टी एकता प्रकृयालाई अगाडी बढाएर लैजाने बताए । उनले तत्काल नै पार्टी एकता सम्भव नभए पनि बाम गठबन्धन बनाएर अगाडि बढनु बाहेक अरु विकल्प नभएको बताए ।
उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य डिल्लीमान तामाङ, माओवादी केन्द्रका नेता टंकलाल घिसिङ, माओवादी केन्द्र रामेछापका अध्यक्ष मैन कुमार मोक्तान लगायतको सहभागीता रहेको थियो ।
शुक्रबार २८ फाल्गुन, २०७७