जेठ ३०, रामेछाप । आइतबार एकैदिन रामेछापमा एक सय २६ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ५१४ जना पुगेको छ ।
रामेछाप नगरपालिकाबाट ४४ जना, मन्थली नगरपालिकाबाट ३९ जना, उमाकुण्ड गाउँपालिकाबाट ३५ जना, लिखुतामाकोशी गाउँपालिकाबाट तीन जना, गोकुलगंगा गाउँपालिकाबाट दुई जना, जिल्ला अस्पतालबाट एक जना, खाँडादेवी गाउँपालिकाबाट एक जना र तामाकोशी अस्पतालबाट एक जना आइतबार कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
त्यसैगरी जिल्लामा आइतबार १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा तीन जना, गोकुलगंगा गाउँपालिकामा दुई जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालयकाले जनाएको छ ।
साथै सुनापति गाउँपालिकामा ९ जनामा पीसिआर परीक्षणबाट कोरोना देखिएको छ । योसँगै वैशाखदेखि हालसम्म जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या एक हजार ७९८ जना पुगेको छ ।
अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १६ जनाको ज्यान गएको छ भने १७ जनालाई थप उपचारका लागि रिफर गरिएको स्वास्थ्य कार्यालयले बताएको छ ।
हालै जिल्लामा २६८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।
आईतवार ३० जेष्ठ, २०७८