आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

रामेछापमा प्रदेश सरकारको पहलमा ४० किलोमिटर सडक कालोपत्रे सम्पन्न 


रामेछापमा प्रदेश सरकारको पहलमा ४० किलोमिटर सडक कालोपत्रे सम्पन्न 

सुनौलो रामेछाप


असार २१, रामेछाप । विगत दुई बर्षको अवधिमा रामेछापका मुख्य सडकहरु कालोपत्रे गर्ने काम बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा अगाडि बढेको छ । 

चालिस किलोमिटर भन्दा बढी सडक प्रदेश सरकारको लगानीमा कालोपत्रे भएको छ । रामेछापका विभिन्न सडकमा गरी एक अर्ब रुपैयाँ भन्दा बढी बजेट विनियोजन यस आर्थिक बर्षमा मात्र भएको थियो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नयाँ सडक निर्माण गर्ने भन्दा पनि सदरमुकाम मन्थलीबाट जिल्लाको छ वटा गाउँपालिकासम्म जोडने सडक कालोपत्रे कामलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । सदरमुकाम मन्थलीबाट रामेछाप नगरपालिकाको केन्द्र रामेछाप डाँडासम्म यसअघि नै सडक कालोपत्रे भइसकेको छ । त्यसैगरी अहिले सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवी जोडने मन्थली खाँडादेवी गाल्वा सुनापति सडकको काम अगाडि बढेको छ ।

बिपी राजमार्गको खैरेनीघाट खनियापानी बेथान हुँदै गाल्वा जोडने सडक खण्डमा पनि कालोपत्रेको काम भइरहेको छ । 

निर्वाचनको क्रममा आफूले मतदाता समक्ष गरेको प्रतिबद्धता अनुसार यातायातको सेवा सहज रुपमा गाउँगाउँमा पुर्याउनको लागि कालोपत्रेको कामलाई ध्यान दिएको मन्त्री ढुंगेलले बताए ।

यस आर्थिक बर्षमा मन्थली मदौ राल्टार सडकको साढे सात किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख सोमराज तिम्लिसिनाले बताए । करिब १७ करोड लागतमा उक्त सडक कालोपत्रे भएको हो ।

साथै ३८ करोड लागतमा मन्थली पकरवास गाल्वा सडक खण्डको साढे १६ किलोमिटर सडक कालोपत्रे भएर सञ्चालनमा आएको छ । २३ करोड लागतमा सित्खा-भिरपानी खण्डको १० किलोमिटर, ८ करोड लागतमा खैरेनीघाट लुभु बेथान सडक खण्ड, साढे तीन करोड लागतमा कालोचौतारो सिंगटी सडक खण्डको साढे १ किलोमिटर, साढे २ करोड लगानीमा खिम्ती रस्नालु सडक खण्डको १ किलोमिटर सडक कालोपत्र र साढे २ करोड लागतमा लखनपुर गाल्वा सडक खण्डको १ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । 

प्रमुख तिम्सिनाले यस आर्थिक बर्षमा सडक कालोपत्रे गर्न एकअर्ब बजेट रहेको बताउदै ९० करोड भन्दा बढी बजेट खर्च भइसकेको जानकारी दिए ।

सोमबार २१ असार, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट