शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

प्रहरीले रामेछापमा तेब्बर भाडा लिने बसमाथि गर्यो कारबाही


प्रहरीले रामेछापमा तेब्बर भाडा लिने बसमाथि गर्यो कारबाही

सुनौलो रामेछाप


असार २९, रामेछाप । कोरोनाको दोस्रो लहर चलिरहँदा जोखिम कायमै रहेकाले रामेछापबाट अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन हुन सकिरहेको छैन । जिल्ला प्रशासन कार्यालयको अनुसार रामेछाप जिल्लाभित्र मात्रै सवारी साधन सञ्चालन गर्न दिएको छ । तर विभिन्न बहाना बनाउँदै राजधानी काठमाडौं लगायतका विभिन्न ठाउँबाट दैनिक १५ वटा भन्दा बढी सार्वजनिक सवारी साधन भित्रने त्रम जारी छ । 

जिल्ला प्रहरी कार्यालय रामेछापले भने अन्य जिल्लाबाट आएका सवारी साधनलाई सम्बन्धित स्थानीय तहको जनप्रतिनिधिहरुको सिफारिस आएपछि मात्रै प्रवेश गर्न दिएका छन् । जिल्लाबाट सार्वजनिक सवारी साधन काठमाडौं जानको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनिवार्य रुपमा सहमति चाहिने प्रावधान रहेको छ ।

धेरै थरिका बहाना पारेर जिल्ला प्रवेश गर्नुका साथै जिल्लाभित्रका सार्वजनिक सवारी साधनले तोकिए भन्दा तेब्बर भाडा असुल्ने काम गरेपछि जिल्ला प्रहरी कार्यालयले एक साताको अवधिमा चार वटा बसलाई कारवाहीको दायरामा ल्याएको छ । प्रहरीको सक्रियतामा बढी भाडा असुल्नेलाई भाडा फिर्ता समेत गराएको छ ।

बा ५ ख ८७८५ को बसले खुर्कोट मन्थलीको चलिरहेको भाडा ८० रुपैयाँ रहेकामा २ सयसम्म लिएको पाएपछि प्रहरीले उक्त बसमाथि कारवाही गर्नुका साथै सम्बन्धित यात्रुलाई १ सय २० रुपैयाँ फिर्ता गर्न समेत लगाएको छ ।

त्यसैगरी गोठगाउँबाट मन्थली चल्ने बा ५ ख ५८१७ नम्बरको बसले प्रचलित भाडा १ सय ५० भएपनि ६ सयसम्म भाडा लिएको पाइएको प्रहरीले जनाएको छ ।

यात्रुले प्रहरीलाई दिएको सूचनाका अनुसार प्र–३–०२–००६ ख.०६०४ नम्बरको बसले काठमाडौंबाट मन्थलीसम्मको प्रचलित भाडादर ५ सय भएपनि दुई जना यात्रुसँग १५ सयसम्म लिएको जानकारी दिएपछि उक्त बसमाथि पनि प्रहरीले कारवाही गरेको छ त्यसैगरी केही दिन अघि मात्र बा ५ ख २९५ को बसले यात्रुसँग बढी भाडा लिएको पाइएपछि प्रहरील कारवाही गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले लकडाउनको समयमा यात्रुमाथि बढी भाडा लिने सवारी साधनमाथि कडा कारवाही हुने बताएका छन् । 
 

मंगलवार २९ असार, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट