बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

रामेछापमा सुविधा सम्पन्न कभर्ड हल निर्माण हुँदै 


रामेछापमा सुविधा सम्पन्न कभर्ड हल निर्माण हुँदै 

सुनौलो रामेछाप


पुष २७, रामेछाप । रामेछाप नगरपालिका र संघीय सरकारको संयुक्त लगानीमा रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा फुटबल मैदान सहितको सुविधा सम्पन्न कभर्ड हल निर्माण हुन लागेको छ ।

आइतबार नगर प्रमुख नर बहादुर थापामगरले कभर्ड हलको शिलान्यास गर्दै नगरपालिकाको पाँच वर्षे रणनीतिक योजना अनुसार कभर्ड हल निर्माण हुन लागेको बताएका छन् । 

नगरको समग्र विकासको लागि रणीतिक योजना अनुसार काम भइरहेकाले त्यसलाई निर्धारित समयमै सम्पन्न गराउन सबैको साथ र सहयोग हुनुपर्नेमा नगर प्रमुख थापामगरले जोड दिएका छन् ।  

पहिलो चरणमा टेण्डर भएर कभर्ड हल निर्माण सम्पन्न हुने भएपनि डीपिआर अनुसार सबै काम सम्पन्न नहुने भएकाले आगामी वर्षहरुमा बजेटको व्यवस्थापन गर्न सबैले सहयोग गर्नुपर्नेमा वडाध्यक्ष समिर कार्कीको जोड दिएका छन् । 

सुनकोशी कन्सट्रक्सन नेपाल प्रा. लिले निर्माणको जिम्मा लिएको कभर्ड हल ४ करोड ५३ लाख ६५ हजार ४ सय ३३ रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी निर्माणको काम २०७९ साल असार २५ भित्र सक्नु पर्ने सम्झौता भएको रामेछाप नगरपालिकाका इन्जिनियर कुशुम भट्टराईले बताए । भट्टराईका अनुसार सम्झौता अनुसार १ सय ९ फिट लम्बाई र ८६ फिट चौडाइ भएको कभर्ड हल निर्माण हुनेछ ।

त्यस कभर्ड हल भित्र भलिबल खेल्ने मैदान, ब्याडमिन्टन खेल्ने ठाउँ, जीम गर्ने ठाउँ, दर्शक बस्ने ठाउँ, कार्यक्रम गर्ने स्टेज, ड्रेस चेन्ज गर्ने कोठा, महिला पुरुष शौचालय, टिकट घर लगायतका संरचना हुने पनि इन्जिनियर कुशुम भट्टराईले बताए । 

सोमबार २७ पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट