शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

रामेछाप जिल्लाकै पहिलो विउ आलु उत्पादन केन्द्र निर्माण 


रामेछाप जिल्लाकै पहिलो विउ आलु उत्पादन केन्द्र निर्माण 

सुनौलो रामेछाप


असार ३०, रामेछाप । रामेछाप जिल्लाकै पहिलो विउ आलु उत्पादन स्रोत केन्द्र (रष्ट्रिक हाउस) र स्क्रिन हाउस दोरम्बा सैलुङ्ग गाउँपालिका–१ डुडुवा स्थित राजभिरमा  निर्माण भएको छ । 

आलु उत्पादन बढाउनको लागि बागमती प्रदेश अन्तर्गत कृषि ज्ञान केन्द्र रामेछाप र कृषक समुहको लगानीमा विउ आलु उत्पादन स्रोत केन्द्र निर्माण गरेको हो ।

साथै मसलावाली विकास केन्द्र पाँचखाल काभ्रेको लगानीमा स्क्रिन हाउस निर्माण गरिएको हो । २०३२ सालमा  रामेछापको दोरम्बा गाउँपालिकासहित दोलखा र सिन्धुपाल्चोकमा स्वीसबाट ल्याएको आलु हाल उत्पादन हुँदै आएको छ । निकै लामो समयसम्म एउटै बिउ प्रयोग गर्दा आलु उत्पादन बढेको निष्कर्ष सहित बागमती प्रदेश सरकारले सैलुङ्गमा आलुको विउ उत्पादन केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार कृषि ज्ञान केन्द्र, सैलुङ्ग क्षेत्र वृहत्त आलु उत्पादन कृषक समुह र सैलुङ्ग एकीकृत नमूना वस्ती कृषि उत्पादन समुहको संयुक्त पहलमा विपिएस प्रविधिबाट आलुको विउ उत्पादन गर्ने केन्द्र निर्माण भएको हो ।

सरकारको पचास प्रतिशत र कृषक समुहको पचास प्रतिशत लगानीमा आलुको बिउ उत्पादन केन्द्र निर्माणको काम सम्पन्न भएको सैलुङ्ग कृषि पर्यटनका अभियन्ता दावा साङबु शेर्पाले बताए । 

गाउँपालिकाको डडुवा, गौश्वारा र दोरम्बा क्षेत्रमा गरी बार्षिक रुपमा करिब एक सय मेट्रिटन भन्दा बढी आलु उत्पादन हुने गरेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताए । 

दोरम्बा गाउँपालिकाभित्र मात्र बार्षिक दस करोड भन्दा बढीको आलु उत्पादन हुने गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आलु निर्यात गर्दा कर लिने नीतिगत निर्णय गरेपनि निर्यात कर संकलनको काम भने अगाडि बढाउन सकेको छैन ।
 

बुधबार ३० असार, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट