मङ्सिर १२, रामेछाप । बेमौसमी वर्षाका कारणले यस वर्ष रामेछापमा २ हजार ६ सय मेट्रिकटन धान उत्पादनमा गिरावट आएको ज्ञान केन्द्र रामेछापले जनाएको छ ।
कृषि ज्ञान केन्द्र रामेछाप अनुसार जेठ महिनादेखि सुरु भएको वर्षाबाट जिल्लाभरी दुई हजार ६ सय ९६ मेट्रिकटन धानबालीमा क्षति पुगेको छ।
मन्थली नगरपालिकामा एक हजार आठ सय ५४ मेट्रिकटन, रामेछाप नगरपालिकामा ५९ मेट्रिकटन, खाँडादेबी गाउँपालिकामा ३५ मेट्रिकटन, सुनापति गाउँपालिकामा एक सय ६८ मेट्रिकटन, गोकुलगंगा गाउँपालिकामा पाँच सय ६२ मेट्रिकटन, उमाकुण्ड गाउँपालिकामा चार मेट्रिकटन र लिखुतामाकोशी गाउँपालिकामा १३ मेट्रिकटन धानबालीमा कमी आएको हो।
यसवर्ष खाँडादेवी गाउँपालिकामा दुई सय ५० हेक्टर क्षेत्रफलमा रोपाई गरिएको धान मध्य पाँच प्रतिशत अर्थात १२.५ हेक्टर जमिनमा लगाइएको धानबालीमा क्षति पु¥याएको हो ।
रामेछाप नगरपालिकामा एक सय ७५ हेक्टर भू–भागमा धान रोपाई गरिएकोमा आठ प्रतिशत अर्थात् २१ हेक्टर जमिनमा क्षति भएको छ। मन्थली नगरपालिकामा १ हजार १ सय हेक्टर जमिनमा रोपाई गरिएकोमा ६ सय ६० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ।
सुनापती गाउँपालिकामा चार सय हेक्टर जमिनमा धान रोपाई गरिएकोमा दश प्रतिशत अर्थात ६० हेक्टरमा क्षति पुगेको थियो। गोकुलगंगा गाउँपालिकामा दुई सय ५० हेक्टर जमिनमा धान रोपाई गरिएकोमा ८० प्रतिशत अर्थात दुई सय हेक्टर धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र रामेछापले जानकारी दिएको छ।
उमाकुण्ड गाउँपालिकामा एक सय ५० हेक्टर जमिनमा धान रोपाई भएकोमा एक प्रतिशत अर्थात् एक दशमलव पाँच हेक्टर भू–भागको धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख निर्मला गुरुङले जानकारी दिइन्। उनका अनुसार लिखुतामाकोशी गाउँपालिकामा चार दमशलव सात हेक्टर धानबालीमा क्षति पुगेको छ।
एक हजार पाँच सय ४८ वर्ग किलोमिटर कुल भू–भाग रहेको हिमाली जिल्ला रामेछापमा ५०९.८ वर्ग किलोमिटर खेतीयोग्य जमिन छ। त्यसमध्ये यसवर्ष दुई हजार आठ सय २५ हेक्टर भू–भागमा धान रोपाइ गरिएको थियो। धान रोपाइ गरिएको भू–भागको नौ सय ५९.७ हेक्टर धानबालीमा वर्षाले क्षति पु¥याएको कार्यालय प्रमुख गुरुङले बताइन्।
खेती गर्ने बेला किसानले समयमै रसायनिक मल नपाउनु र सिँचाइको प्रर्याप्त सुविधा नहुनुले धान उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्रले बताएको छ । धान बालीमा लाग्ने रोग नियन्त्रणमा कृषि ज्ञान केन्द्रको ध्यान नगएका कारण उत्पादन घटेको कृषकको गुनासो छ।
आईतवार १२ मंसिर, २०७८