जेष्ठ ९ रामेछाप, नेपाली कांग्रेस रामेछापले गत निर्वाचनमा पार्टीको कार्यकर्तालेनै आन्तरिक रुपमा असहयोग गरेको पुष्टि भएमा कारबाही गर्ने भएको छ ।
निर्वाचनको नतिजाबाट नेपाली कांग्रेस जिल्लामै सबै भन्दा ठूलो पार्टी भएपनि निर्वाचनको परिणामबाट पार्टी पूर्ण सन्तुष्टि भने नरहेको सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ले बताएका छन् । आज सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरि भर्खरै सम्पन्न भएको पालिका निर्वाचनमा आफ्ना उम्मेद्वार पार्टीकै केही व्यक्तिको असहयोगका कारण पराजित भएको भन्ने चौतर्फ चर्चा रहेको भन्दै त्यो आधिकारीक उम्मेद्वारहरुले लिखित रुपमा भनेमा त्यसता व्यक्तिलाई पार्टीले कारबाही गर्ने सभापति तामाङ्ले चेतावनी दिए । उनले भने ‘त्यो सुनिएको छ । संजालतिर पनि देखिएका छन्, तर, हल्ला, आशंका गरेर हुदैन । आधिकारिक उम्मेद्वारले लिखित रुपमा यो व्यक्तिले असहयोग गर्यो भनेर हामीलाई प्रतिबेदन आउनु पर्छ । त्यसो भएमा हामी त्यसलाई पार्टीबाटै निष्कासन गर्नेसम्मको कारबाही हुन्छ । हामीले त्यसको लागि ७ दिनको समय पनि दिएका छौं ।’
सोमबार ९ जेष्ठ, २०७९