माघ २७ रामेछाप, रामेछापको मन्थली नगर अस्पतालले आफ्नो तेस्रो वार्षिक उत्सव मनाएको छ । आज मन्थली प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङको प्रमुख आतिथ्यतमा नगर अस्पतालको वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम उद्घाटन गर्दै तामाङले विकासको काममा विरोध गर्न नहुने बताएका छन् । जिल्लामा कसरी विकास गर्न सकिन्छ भन्ने लक्ष लिएर अघि बढ्नु पर्ने उहाँको धारणा रहेको छ । मन्थली अस्पतालमा उपकरण र जनशक्ति थप गर्न आफू निरन्तर लाग्ने तामाङले प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाग्मती प्रदेशसभा सदस्य युवराज चौलागाईंले एकले अर्कालाई गाली गरेर कुनैपनि समस्या समाधान नहुने बताएका छन् । अरूलाई सुझाव दिने भन्दा पनि आफू नै सुध्रिनु पर्ने धारणा व्यक्त गरेका छन् । स्वास्थ्यको अधिकार मौलिक अधिकारको विषय पनि भएकोले नागरिकको यो अधिकार सुरक्षित गर्न जिम्मेवार निकाय लाग्नु पर्ने चौलागाईंले बताए ।
सदरमुकामको अस्पताल भएकोले मन्थली अस्पतालमा आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा लाग्नु पर्ने बाग्मती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठले बताएका छन् ।
शनिबार २७ माघ, २०८०