पुस १२, काठमाडौं । ओखलढुंगा लिखु गाँउपालिकामा रहेको नेपालकै दोस्रो अग्लो पोकली झरनालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरिनुपर्नेमा जोड दिइएको छ । १३१ मिटर अग्लो झरनालाई नेपाल सरकारले उत्कृष्ट एकसय गन्तव्यभित्र राखेर पर्यटन प्रवर्द्धन गरिरहेको छ ।
पोकली झरना सेवा समाजले निर्माण गरेको पोकली झरना सम्बन्धी ‘बृत्तचित्र’ को शनिबार रहेको उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पोकली झरनालाई आन्तरिक तथा बाह्य पर्यटक आगमन केन्द्रको रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा झरनालाई प्रचार गरिनुपर्नेमा जोड दिदै आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तब्यको रुपमा रहेको पोकली झरना र आसपासको क्षेत्रलाई विश्वबजारसम्म प्रवर्धन गर्न सबै किसिमको अभियान सञ्चालन गरिनुपर्ने बताउनुभयो ।
सचिव कोइरालाले सरकारले महत्वपूर्ण झरनाको रुपमा स्वीकारेको भन्दै अब त्यसको प्रवर्द्धनमा गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
विश्वस्तरमा पोकली झरना चिनिएको भन्दै त्यसलाई प्रवर्धन गर्न आवश्यक रहेको पोकली झरना सेवा समाजका अध्यक्ष मिलन विष्टले बताउनुभयो । उहाँले सगरमाथाको गन्तव्यस्थल ओखलढुंगा रहेको भन्दै यसलाई व्यापक प्रचार गराउनुपर्ने बताउनुभयो । उहाँले झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी विश्वभर प्रवर्धन गर्ने उद्देश्यले बृत्तचित्र निर्माण गरिएको बताउनुभयो ।
प्राकृतिक सुन्दरता, जातीय सांस्कृतिक विविधतायुक्त पोकली झरना र आसपासको क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरी प्रचार प्रसारका निम्ति बोर्डले सक्दो सहयोग गर्ने बचन नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले दिनुभयो ।
पोकली झरनाको सौन्दर्यता, स्थानीय, जातजाती, प्राकृतिक तथा जैविक विविधता, जनजीवन, संस्कृति, रहनसहन आदि विषयवस्तुलाई वृत्तचित्रमा समेटिएको छ ।
गतवर्ष संघीय सरकारले रु २५ लाख, प्रदेश सरकारबाट रु ५० लाख र गाउँपालिकाबाट रु १० लाख बजेट देशकै दोस्रो अग्लो पोकली झरनाको विकासका लागि विनियोजन गरिएको थियो । उक्त रकम पर्यटकीय पूर्वाधारमा खर्चिएको छ ।
झरना क्षेत्रमा ‘फन पार्क’, सिँढी निर्माण तथा त्यस क्षेत्रमा २५ वटा घरबास कार्यक्रम ‘होमस्टे’ बसपार्क निर्माणलगायत ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन भइरहेको महासचिव शम्भु बरालले जानकारी दिनुभयो ।
काठमाडौँबाट १७४ किलोमिटर दुरीमा रहेको पोकली झरनासम्म यातायातको पहुँच छ । काठमाडाँैबाट सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली हुँदै झरनास्थल पुग्न सकिन्छ ।
आईतवार १२ पुष, २०७७