रामेछाप ,फागुन १९
मंगलबार बाट विधीवत रुपमा सुरु भएको माझी समुदायको विशेष पर्व लदी पूजाको समापन बुधबार हुदैँछ।
प्रत्येक वर्षको फागुन महिनाको तेस्रो मङ्गलबार मनाउने लदी कोशी पूजाको पहिलो दिन मङ्गलबार रामेछापजिल्लाका विभिन्न स्थानका माझी समुदायले यो पर्व मनाएका छन् ।
रामेछापको मन्थली नगरपालिका वडा नं ८ गाइखुराका माझी समुदायहरुले तामाकोशीको किनारमा छिनारी मसान, मंगलादेवी र जलदेवीका नाममा पाठी, कुखुरा लगायतका वली चढाएर पुजा मनाएका छन् ।
करिब ५२ घरधुरी रहेका गाइखुराका माझी समुदायहरुले पराम्परागत रुपमा चलिआएको यो पर्वलाई निकै महत्वका साथ मनाइरहेका छन् ।
लदी पूजा गर्नाले पुख्र्याेली पेशा नदीमा डुङ्गा नाउ चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने उनीहरुको विश्वास छ । साथै, नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता समेत छ ।
कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नहोस भनेर नदीको पूजा गरिँदै आएको गाइखुराका माझी समुदायका पूजारी सेते माझीले बताएका छन्।
माझी भाषामा ‘छिनारी’ को अर्थ मसान र ‘लदी’ को अर्थ कोशी हुन्छ । मौलिक पोशाक गुन्यू चोली र दौरा सुरुवालमा सजिएर माझी समुदायले मुन जाँड खाएर नाचगान समेत गरेका थिए । माझी समुदायको लदी पूजा बुधबार बाधा फुकाएसँगै विधिवत् रुपमा अन्त्य हुनेछ ।
बुधबार १९ फाल्गुन, २०७७