पुस १, रामेछाप । एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुखमा नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ ‘टलक’ चयन भएका छन् ।
एसिया रग्बीका अध्यक्ष क्वाइस अल धलाईको अध्यक्षमा भएको कार्यसमितिको भर्चुअल बैठकले घिसिङलाई जनवरी २०२१ देखि डिसेम्बर २०२४ सम्मको लागि उक्त कमिटीका प्रमुखमा चयन गरको हो ।
कमिटी प्रमुख हुने र एसिया रग्बीको कार्यसमितिमा पुग्ने पहिलो नेपाली बनेका घिसिङ सन् २०१२ देखि नेपाल रग्बी संघको अध्यक्षमा निरन्तर छन् । नेपालले उनकै पहलमा नोभेम्बर २०१५ मा एसिया रग्बीको एसोसिएट सदस्य पाएको थियो भने जुन २०१८ मा पूर्ण सदस्य भएको थियो । नेपालले निकै संघर्ष गर्दै अक्टोबर २०२० मा वर्ल्ड रग्बीको एसोसिएसट सदस्यता लिएको थियो ।
घिसिङकै कार्यकालमा नेपालमा रग्बीको उमेर समूह, स्कुल स्तर र राष्ट्रिय प्रतियोगिता (महिला र पुरुष) सुरु भएको हो । नेपाली टिमले रियो ओलम्पिक २०१६ को छनोट पनि खेलेको थियो । महिला र पुरुष दुवैको नेपाली राष्ट्रिय टिमले पाँच वर्षयता एसिया रग्बी सेभेन्स ट्रफि नियमित खेलिरहेको छ ।
एसिया रग्बीको नौ वटा कमिटिमध्ये एउटा कमिटीको प्रमुख जिम्मेवारी समेत घिसिङले पाएका छन् । प्रमुखमा चयन भएका घिसिङले नेपाल रग्बी संघको अध्यक्षले एसिया रग्बीमा महत्त्वपूर्ण जिम्मेवारी पाउनु नेपालकै लागि खुसीको विषय भएको बताए ।
यो कमिटीले एसिया रग्बीको आर्थिक पाटोलाई ३५ वर्षीय घिसिङले हेर्नेछ । घिसिङका अनुसार एसिया रग्बीका सदस्य रहेका ३४ देशका संघहरूको आर्थिक पक्ष नियमानुसार पारदर्शी छ, छैन भन्नेसँगै त्यसबारे अनुगमन र अनुशिक्षण पनि गर्नुपर्ने हुन्छ ।
बुधबार १ पुष, २०७७