चैत १०, रामेछाप । सदरमुकाम मन्थलीमा पहिलो पटक नेपाल टेलिकमले फाइबर टु दी होम सेवा सुरु गरेको छ । लामो समय देखि काम सुरु गरिएको भएपनि सोमबार देखि मात्रै उक्त सेवा सुरु भएको हो ।
सेवाको सुरुवात मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत र रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले गरेका थिए ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले ‘फाइबर टु दी होम’ सेवाको सुरुवाती कार्यक्रममा बोल्दै, यस अघि आम सर्वसाधारणले टेलिफोन र इन्टरनेट प्रयोग गर्दा भोग्दै आएको समस्या समधान हुने विश्वास व्यक्त गरे । समयको माग अनुसार भित्रिएको सेवालाई कुनै पनि बेला समस्या नआउने गरी व्यवस्थापन गर्न नेपाल टेलिकमलाई आग्रह गरे ।
नगर प्रमुख बस्नेतले फरक प्रसंगमा नगर भित्र भित्रिएका नयाँ नयाँ प्रविधि विस्तारमा स्थानीयको अवरोधका कारण प्रयोगमा ल्याउन नसकेकोमा दुख व्यक्त गर्दै विकासमा सबै एक भएर लाग्नु पर्ने बताए ।
नेपाल टेलिकमका रिम÷सिम र रिचार्ज कार्ड विक्री वितरण गरेर टेलिकमलाई अधिक राजस्व बुझाउने मिलिजुली बिजुली पसल मन्थलीका प्रोप्राइटर नारायण बहादुर बस्नेतलाई नेपाल टेलिकमले सम्मान गरेको छ ।
मंगलवार १० चैत्र, २०७७