चैत ३०, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाभित्र भइरहेका विकास निर्माणको कामको स्थलगत अनुगमन गरेका छन् ।
सुनापति गाउँपालिकाबाट गत बिहिवार सुरु भएको विकास निर्माणको अनुगमन र जनतासँगको साक्षात्कारसँगै पार्टीको सभामा सहभागी हुँदै आइतवार मन्त्री ढुंगेल गोकुलगंगा गाउँपालिकाको चुचुरे पुगेका छन् ।

मन्थली नगरपालिकाभित्र सञ्चालित विकास निर्माणको अनुमगन गर्दै शुक्रवार र शनिवार जनताको सुझाव लिएका उनले आइतबार गोकुलगंगा गाउँपालिकामा नवनिर्मित शारदा माविको विद्यालय भवनको उदघाटन गरेका छन् । एमालेका नेता समेत रहेका मन्त्री ढुंगेलले अनुगमनको साथै पार्टीद्धारा आयोजित सभा र भेलालाई पनि एक साथ अगाडि बढाएका छन् ।
रामेछाप जिल्लाको विकासको लागि प्रदेश सरकारले सक्दो बजेट विनियोजन गरेको बताउँदै विकास निर्माणको काम दिगो र गुणस्तरीय हुनुपर्नेमा मन्त्री ढुंगेलले जोड दिएका छन् । सडक निर्माणमा ठाउँठाउँमा देखिएको त्रुटी सच्याउनको लागि उनले सरोकारवाला निकायका प्रमुखलाई टेलिफोनबाटै निर्देशन समेत दिएका छन् । प्रदेश सरकारबाट मात्रै रामेछापमा झण्डै तीन दर्जन सडकको कालोपत्रे सुरु भएको छ ।

तीन दिनको अवधिमा मन्त्री ढुंगेलले खिम्ती फर्पु नामाडी बेताली गज्याङ हुँदै चुचुरेसम्म जोडन कालोपत्रे सडकको अनुमगन गरेका छन् । त्यसैगरी मन्थली सानिमदौ राल्टार सालु कालोपत्रे सडकको अनुमगन गर्नुको साथै रणजोर खोलामा निर्माणाधिन पुलको समेत अवलोकन गरेका छन् ।
साथै मन्थली नगरपालिका–३ को खानेपानी आयोजन शिलान्यास, मन्थली नगरपालिका–१ सानिमदौमा निर्माण हुन लागेको पर्यटकीय पार्क अवलोकन, रामेछाप पोलिटेक्निकल इन्टिच्युट मन्थलीको तरकारी खेतीको अवलोकन गरेका छन् ।
सोमबार ३० चैत्र, २०७७