जेष्ठ ६, रामेछाप । बुधबार साँझ जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई नेकपा एमाले नेता रत्न गौतमद्धारा एन्टिजेन परीक्षणको किट हस्तान्तरण गरिएको छ ।
डीसीसीएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूलाई नेता गौतम सहितका एमालेकार्यकर्ताको टोलीले ती सामाग्री हस्तान्तरण गरेको हो ।
एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाले कोरोना परीक्षण गर्ने एन्टिजेनको एक हजार थान किट उपलब्ध गराइएको जानकारी दिए ।
जिल्लामा स्वाब संकलन गर्ने मेशिन नहुँदा बाहिर पठाउनु पर्ने र रिपोर्ट आउन ढिलो हुने भएकोले तुरुन्तै संक्रमण पत्ता लगाउन सकिने सो किटको माग धेरै भएकोले उपलब्ध गराएको उनले बताए ।
रामेछाप अस्पताल र मन्थली नगरपालिकालाई दुई दुई सय र बाँकी ६ वटा गाउँपालिकालाई एक-एक सयका दरले करिब ११ लाख मूल्य बराबरका ती सामाग्री वितरण गरिने प्रमुख जिल्ला अधिकारी सैँजूले बताए ।
बिहीबार ६ जेष्ठ, २०७८