जेठ २७, रामेछाप । खाँडादेवी गाउँपालिकाले दुर सञ्चार विकास कोषबाट आउने बजेट परिचालन गरी गाउँपालिकाको नौ वटै वडाका सबै वस्तीमा अप्टिकल फाइबरसहितको इन्टरनेट जडान गर्ने भएको छ ।
इन्टरनेट सेवा अनिवार्य भइसकेकाले सबै वस्तीमा इन्टरनेटको सेवा पुर्याउने काम अगाडि बढाउन लागिएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताए ।
खाँडादेवी गाउँपालिका अप्टिकल फाइबरसहितको इन्टरनेट सेवा प्रदान गर्ने रामेछापको पहिलो गाउँपालिका हो । गाउँपालिकाले बिपी राजमार्ग मार्फत गाउँपालिकासम्म विछ्याएको अप्टिकल फाइबरमार्फत गत बर्ष असारबाटै केही वडा, बस्ती र विद्यालयहरुमा इन्टरनेट सेवा सुरु गरेको थियो ।
हाल विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयहरुमा लाग्ने अप्किल फाइबरको दुरीको मापन गर्ने काम भइरहेको छ । अबको तीन महिनाभित्र बाँकी रहेका सबै विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा बस्तीहरुलाई फाईबर मार्फत ईन्टरनेट जोडिने तयारी गाउँपालिकाले अगाडि बढाएको छ ।
गाउँपालिकाको स्रोत र साधनले मात्र सबै वस्तीमा इन्टरनेट सेवा दिन कठिन भएपछि प्रदेश र संघीय सरकारसँग बजेट माग गरेको थियो । दुर सञ्चार कोषले लगानी गरिदिने भएपनि अब गाउँपालिकाभित्र पूणर् रुपमा इन्टरनेटको पहुँच हुने भएको छ ।
अप्टिकल फाइबर विछ्याउनको लागि लागत कम गर्नको लागि सुनापति र दोरम्बा गाउँपालिकासँग पनि समन्वय भइरहेको अध्यक्ष तामाङले बताए ।
बिहीबार २७ जेष्ठ, २०७८