भदौ १६, काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिकामा स्थानीय सरकार बनेपछि ५ सय किलोमिटर सडक बनाएर एमाले सरकारको काम नै भएन भन्नेलाई राम्रो जवाफ दिएको छ । सो गाउँपालिकाको नेतृत्व एमालेले गरेको छ ।
स्थानीय सरकार बन्नु अघि खाँडादेवी गाउँपालिका भित्र करिब १ सय ५० किलोमिटर मात्र ग्रामिण सडक थियो । स्थानीय सरकार बनेपछि गाउँपालिकाको केन्द्रबाट हरेक वडामा पुग्ने सडक बाह्रैमहिना चल्ने गरी बनाउन सफल भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताउनुभएको छ ।
तामाङले अब गाउँपालिकाभित्र नयाँ बाटो खोल्न आवश्यक नरहेको बताउनुभयो । अब बनेका सडकको स्तरोन्नतीको काम मात्र गर्दा हुने उहाँको भनाइ छ । ‘टोल टोलमा पुग्ने सडक खोल्ने काम भइसकेको छ, अब भएका बाटोलाई व्यवस्थित बनाउनु पर्ने छ’, उहाँले भन्नुभयो ।
गाउँपालिकाभित्र हालसम्म २४ किलोमिटर सडक कालोपत्रे भइसकेको उहाँले बताउनुभयो ।
यसैगरी १६ किलोमिटर सडक ग्राभेल गरिएको छ । बाँकी कतिपय ग्रामिण सडक सोलिङ गरिएको छ । अधिकाशं ग्रामिण सडकलाई व्यवस्थित गर्न ग्राभेल, सोलिङ मेसिनरी वाल, नाला निर्माण लगायतका काम अघि बढेका छन् ।
सो गाउँपालिकाको सित्खा–गोगनपानी सडक पिच भइसकेको छ । त्यस्तै मन्थली–पकरवास सडक पनि पिच भएको छ । दुईवटै सडक वाग्मती प्रदेश सरकारले पिच गरेको हो । पकरबास–गाल्पा सडक पिच गर्नको लागि थप टेन्डर भइसकेको छ ।
बुधबार १६ भाद्र, २०७८