जेष्ठ ११, देशभरका स्थानीय तहका नव निर्वाचन जनप्रतिनिधिहरुले आफ्नो पदभार ग्रहण गर्ने क्रम जारी छ ।
नेकपा (एमाले)का बाग्मती प्रदेश सदस्य समेत रहनुभएको रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठले आफ्नो कामको सुरुवात भने नयाँ तरिकाले गर्नुभएको छ । सदरमुकाम मन्थलीबाट सो वडा हुँदै गेलु, चनखु, पुरानागाउँ लगायतको क्षेत्रमा जाने सडकमा झरेको पहिरो पन्छाउन लगाएर श्रेष्ठले काम प्रारम्भ गर्नुभएको हो ।
बाटो सफा गर्न डोजर सहित करमबोट पुलको छेउमा पुग्नुभएका श्रेष्ठले ठुँला कुरा गर्नुभन्दा पनि स्थानीय सरकारले नागरिकलाई अप्ठेरो परेका साना सान कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । ‘चल्तीको बाटो भए पनि लामो समयदेखि गएको पहिरो हटाउने कुरामा कसैको ध्यान पुगेको थिएन, दुर्घटनाको डर बढेको थियो, त्यसैले पहिलो काम यही गर्नुपर्छ भनेर यहाँबाट काम सुरु गरेको हुँ’, श्रेष्ठले भन्नुभएको छ ।
बुधबार ११ जेष्ठ, २०७९