माघ ४, रामेछाप । “किसानको गोठदेखि तपाईंको ओठसम्म” भन्ने मुल नाराका साथ २०६७ माघ ४ गतेदेखि सञ्चालनमा आएको चिरन्जीवी डेरी उद्योग आज १०औं वर्ष पुरा गर्न सफल भएको छ ।

दैनिक २० लिटर दुधको कारोबारबाट सुरुवात गर्न थालिएको चिरन्जीवी डेरी उद्योग १०औं वर्ष पार गर्दै गर्दा दैनिक १५०० लिटरको हाराहारीमा कारोबार गर्न सक्षम भएको छ ।

१०औं वार्षिक उत्सवको अवसरमा माघ ३ गते शनिबार जि.यस होटल मन्थलीमा चिरन्जीवी डेरीले एक कार्यक्रमको आयोजना गरी १०औं वार्षिक उत्सव मनाएका छन् ।

नेपाल डेरी एसोशिएसनका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा अध्यक्षता अगुवा कृषक विष्णु सुवेदीले गरेका थिए ।

प्रमुख अतिथि सापकोटा तथा विशेष अतिथि नेपाल डेरी एसोशिएसनका केन्द्रिय महासचिव प्रलाद दाहालले सरकारले कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय गलत भएकोले निर्णय फिर्ता गर्न आग्रह गर्नुका साथै कृषकहरुलाई नै अनुदान दिन माग गर्दै डेरी उद्योगको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश ससंद शान्ति प्रसाद पौडेल, पूर्व संसद देवशंकर पौडेल, नेकपा रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, नेपाली कांग्रेस रामेछाप जिल्ला सचिव लेख बहादुर कार्की, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरे, पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, केशवराज सापकोटा लगायतका वक्ताहरुले डेरीको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा मुकुन्द खड्का र रोहिणीराज चापागाईंलाई पशु उपचार कृतिम गर्भाधान गरी दुध उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याएकोमा सम्मान गर्नुका साथै विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने २१ जना कृषकहरुलाई उपहार प्रधान गरिएको जानकारी चिरन्जीवी डेरी उद्योग तथा कार्यक्रमका सञ्चालक भानुभक्त श्रेष्ठले सुनौलो रामेछापलाई गराउनुभयो ।
तस्बिरः भानुभक्त श्रेष्ठ
मन्थली
आईतवार ४ माघ, २०७७